यो झरी होईन, मेरो आँसु हो
जो झरीरहेछ आकाशको बाटो भएर
मैले एक युगमा बाँचेको
अनगिन्ती जिन्दगीहरूको दुखाइ पखाल्न
मलाई स्निग्ध बनाउन ।
यो गड्याङ्ग गुडुङ होईन, मेरो पिडाको आर्तनाद हो
जो चिच्याइ रहेछ मनभित्र गुम्साउदा गुम्साउदा
खात बनिसकेको ट्रमाहरू बाहिर निकाल्न
आफैंलाई दु:खद अनुभुतिहरूको कैदबाट उन्मुक्ति दिन ।
यो सुइय्य गरेर बेलाबखत जोडले आउने बतास
बतास मात्रै होईन, मेरो सुस्केरा हो
थकाइ मारीरहेको,
निस्सास्सिएर गुम्सिरहेको फोक्सोलाई
राहतको प्राण भरीरहेको ।
झरी पर्दा तिमि कुनै कामुक युवती भिजेको कल्पना गरौंला
तर के त्यस्कै अर्को क्षण, सम्झिन्छौ तिमी मेरो अनुहार?
जो यसरी नै बर्सिन्थ्यो तिम्रो अघि
निर्धक्क भएर,
आफैंलाई निथ्रुक्क भिजाएर ।