हत्केलाका रेखाहरुमा मिलाएर कोर्नु छ मलाई त,
-मेरै सपनाका आकृतिहरु
-कर्मका धर्साहरु,
-म हुनुको/ मेरो अस्तित्वको छापहरु
– मेरो पद्चापहरुले छोड्ने डोबहरु
अनि,
कोर्नु छ मेरो आफ्नो समयको प्रतिबिम्बहरु
ओ प्रिय अपरिचित,
मेहन्दिले मेरो नाम किन कोरीनौ भनेर
कहिल्यै नसोध्नु ल!
यदि मेहन्दिले कोरिँदो हो त सम्बन्धको आयु,
– मक्किने थिएन बिश्वास,
घात- प्रतिघातको चङ्गुलमा पुरिएर
– चुँडिने थिएन आस्थाका डोरीहरु
-सिँच्ने थिएन कसैले आशुले शिरानी
-पिउनु पर्ने थिएन कहिल्यै पनि नुनिलो
पानीका बुँदहरु
-घृणा गर्ने थिएन कसैले सपना लिएर
आउने रातहरुलाई
-निस्सासिने थिएन यो खुल्ला र स्वतन्त्र
सन्सारमा मान्छे
-रुने थिएन झरी
-बिरहमा भुल्ने थिएनन् हार्मोनियमका किहरु
अनि,
-आफ्नो धावनमार्ग पूरा नगरीकनै
अस्ताउने थिएनन्
कयौं थान जिन्दगीहरु
म त चुराको हरियो गाढा रङ्गलाई
-आफ्नै बलबुताले पोत्न चाहान्छु मेरो इन्द्रेणीमा
– थप्न चाहान्छु छनछन आवाज
मेरो जिन्दगीको रफ्तारमा
ओ प्रिय मानिस,
मेरो नामको चुराहरुले हात किन सजाइनौ भनी
कहिल्यै नसोध्नु है!
हिरादेबी वाइबा