आमा नौ महिनासम्म तिमीले मलाई यो संसारमा ल्याउन कति समस्याहरुको सामना गर्नु पर्यो त्यो त म आफैँ आमा भएपछि मात्र थाहा पाउने छु। तर आमा मैले तिमीलाई जन्मिएपछि झन् लाखौं गुणा बढी दु:ख दिदै गर्दा किन तिमीले एक पटक पनि मलाई गाली गरिनौ ? नौ महिनापछि जब म जन्मिएँ, सबैजना छोरी भएको भनेर दुखी हुँदा सहनै नसक्ने पिडामा पनि आफ्नो आँखाको आँसु पुछेर कसरी हाँस्न सक्यौ आमा ?
बच्चा त भगवानको स्वरुप भन्छन् नि अनि किन तिमीलाई र मलाई ११ दिनसम्म चिसो कुनामा सबैभन्दा टाढा राखेका नि आमा ? आधा रातमा उठेर रुन्छे कि भनेर तिमी आफू आधा निन्द्रा सुत्यौ। राती म रुदा सँगै सुतेका बुबा अनि पल्लो कोठामा सुतेकी हजुरआमा, “कति रुन सकेकी ? सुत्न नि नदिने भई ।” भनेर झर्को मान्दा तिमी म सँगै झर्को नमानी कसरी सुत्न सक्यौ ? आफू नखाई मलाई खुवाउन कसरी सक्यौ ? मलाई कोर्कोमा छोडेर तिमी बारीमा काम गर्न जान्थ्यौ। म भोकाएँ कि भनेर तिमी हतार हतार म भएको ठाउँमा सास नफेरी आफू पानी पनि नपिएर मलाई दश धारा दूध किन चुसाएकी नि आमा ?
जब म फोहोर गर्थें तब बुबाले जति टाढा भए नि किन चिच्याएर तिमीलाई नै बोलाएका नि आमा ? म जब ४-५ महिनाको हुँदा भर्खरै बोल्न सक्ने भएकी थिएँ तब मलाई पहिला आमा भन नभनी किन बाबा, बा , दादा, दिदी भन भनेर सिकाएक़ी नि आमा ? म त तिमीलाई कति दुख दिन्थेँ । तिमीले आफै हिड, उठ भन्दा म हाक्का भन्दै रुन्थेँ । रोएर टोलै थर्काउदा पनि मुसुक्क हाँसेर आउ भन्दै किन काख लिएकी नि तिमीले आमा ?
सानोमा त म धेरै चकचके थिएँ । धेरै लोट्थेँ । तर त्यो बेला तिमीले गहभरी आँसु किन लिएकी नि आमा ? राती कसैको घरमा भजन हुँदा तिमी मलाई बोकेर जान्थ्यौ। थकाइ लागेपछि दादासँग जाउ न भन्थ्यौ। म नमानेर रुन्थेँ । त्यही पनि तिमी सकि नसकी मलाई पुजा भएको घरसम्म पुर्याउथ्यौ । किन तिमीलाई गाह्रो हुन्थेन र आमा ?
म अलि ठुली भएर विद्यालय पढ्दा परिक्षामा प्रथम हुँदा मभन्दा पहिला हाँस्थ्यौ। अनि बिरामी भएर प्रथम नभएर दोस्रो हुँदा मेरा आँखा भन्दा तिम्रा आँखामा पहिला आँसु आउने गर्थे । किन आमा तिमी मेरो खुशी र दु:खमा यती धेरै सहमत भएकी ? सरकारले दिनमा ८ घन्टा काम गर्नेहरुलाई तलब दिन्छ। तिमी त बिहान नि सबैभन्दा छिटो उठेर दिनभरि घरबारीको काम गर्छ्यौ। अनि राती पनि सबै सुति सकेपछि मात्र सुत्छ्यौ तर पनि तिमीलाई किन तलब नदिएका नि आमा ?
आमा मेरा यी अनगिन्ती प्रश्नका उत्तर सायद एउटै हुन्छ होला है – आमाको ममता । होइन र ?
समीक्षा ठकुरी